१८ मंसिर, ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५८ जना खेलाडी बोलाएको छ । एन्फाले सन् २०२२ को फिफा विश्वकप छनोट र २०२३ को एसियन कप छनोटअन्तर्गत बाँकी रहेका खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।
बन्द प्रशिक्षणका लागि सात जना गोलरक्षक, १८ रक्षक, २० मिडफिल्डर र १३ जना स्ट्राइकर बोलाइएको छ । विश्वकप छनोटअन्तर्गत नेपालले अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग तीनवटा खेल खेल्न बाँकी छ । सबै खेल घरेलु मैदानमा हुनेछ । एन्फाले बोलाएको टोलीमा लामो समय रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डर सन्तोष तामाङ, रक्षक दिनेश राजवंशी र आदित्य चौधरी पनि सामेल छन । यसअघि विराजलाई फिट नभएको कारण बाहिर राखिएको थियो । यसैगरी भुटानमा भएको विश्वकप छनोट खेलअघि डिस्को काण्डमा मुछिएका विमल, सन्तोष र दिनेश एन्फाको अनुशासनको कारबाहीमा परेका थिए ।
एन्फाले खेलाडीको प्रशिक्षण मंसिर अन्तिम साताबाट सुरु गर्ने जनाएको छ । प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा गोलरक्षकमा किरणकुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बू छन । रक्षकमा देवेन्द्र तामाङ, विराज महर्जन,रजिन धिमाल, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दीप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान र रोहित चन्द छन । मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दीपेश आलेमगर, तेज तामाङ, रवि पासवान, पूजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नीतिन थापा र सुनील बल छन । स्ट्राइकरमा विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विश्व, राजीव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ रहेका छन । टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्नेछन ।




