८ पुष । लियोनल मेस्सी विश्व चर्चित नाम हो । विश्वका सफल र उदयमान खेल ब्यक्तिका रुपमा गर्वका साथ लिने नाम मध्येको एक नाम हो मेस्सी । अझ फुटवल खेल खेल्ने र हेर्नेहरुका लागि त उनी प्रेरणाका स्रोत हुन्, गोलका मेसिन हुन अनि जादुमय फुटवलका पर्यायी हुन । यिनै मेस्सीले विश्वभर खेलिने फुटवलका महान खेलाडी पेलेले बनाएको कीर्तिमान तोडेका छन ।
मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेस्सीले मंगलबार बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३–० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । मेस्सीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा मात्र ३ सय ७८ गोल गरेका छन् । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिँदैछ । गत अगष्टमा उनले क्लब छाड्न चाहेको उल्लेख गर्दै क्लबसँग अनुमति माग गरेका थिए । तर क्लबले उनलाई लैजान ७ सय मिलियन युरो रकम तिर्नुपर्ने बताएको थियो ।
पेलेको कीर्तिमान भंग गरेका मेस्सी र पेलेबीच खेल जीवनमा केहि समानता भेटिन्छ । जस्तै जर्सी नम्बर १० । पेलेले आफ्नो खेल जीवनमा पहिला सान्तोष र पछि न्यू योर्क कसमसमा १० नम्बर जर्सी लगाएका थिए । मेस्सीले भने ३० नम्बरको जर्सीबाट आफ्नो व्यवसायिक खेल जीवन सुरु गरे पनि २००८/०९ बाट बार्सिलोनामा जर्सी नम्बर १० लगाइरहेका छन् । पेले र मेस्सी दुवैले मैत्रीपूर्ण खेलमार्फत व्यवसायिक जीवनको सुरुवात गरेका थिए । दुवै खेलाडीलाई समर्थकहरु गोल मेसिनको रुपमा हेर्छन । पेलेले खेल जीवनमा ७ सय ८६ खेलमा ७ सय ५७ गोल गरेका थिए भने मेस्सीले गरेको गोलसंख्या ७ सय नाघेको छ । दुवै खेलाडीले विश्वकपमा गोल्डेन बल जितेका छन् । दुवै खेलाडी टाइम्स म्यागेजिनको टाइम्स १०० मा परेका थिए । पेले र मेस्सी दुवैले सबै भन्दा कम उमेरमा आफ्नो देशको तर्फबाट विश्व कपमा गोल गरेका थिए । १९९२ मा पेलेलाई ब्राजिलियन सरकारले नेशनल अर्डर अफ मेरिटबाट सम्मान गरेको थियो । त्यस्तै अर्जेन्टिनाले मेस्सीलाई प्रतिष्ठित सम्मान गरेको थियो । पेले दक्षिण अमेरिकी खेलाडीमा सर्वाधिक गोल गर्नेमा पर्दछन् । उनको नाममा ७७ गोल छ । मेस्सीले ७१ गोलका साथ उनलाई पछ्याइ रहेका छन् । पेलेले राखेको कीर्तिमान भंग गर्न बाँकी रहेको मध्ये यो एक हो ।
यस्ता धेरै कीर्तिमानको सिढी चढेका मेस्सीका लागि देशलाई विश्व फुटवलकोे ताज दिलाउन नसक्नुको पीडा भने सर्वाधिक रहेको छ । उनको आलोचना गर्नेहरुका लागि यो नै एक मात्र कारण पूरा गर्न सकेका छैनन् ।