१५ पौष, एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ ।
नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ ।
बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।
बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए ।
सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्डरएस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण गर्ने घोषणा गरिसकेको छ ।
अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप फाइजर बायोएनटेकद्वारा विकसित खोपको तुलनामा व्यवस्थापन र सामान्य फ्रिजको तापक्रममा पनि भण्डारण गर्न निकै सहज हुनुका साथै कम खर्चिलो पनि छ ।
एक डोजको मूल्य दुई देखि तीन पाउण्डसम्म पर्ने सक्ने समाचार माध्यमले जनाएका छन्। उक्त खोप पनि फाइजर-बायोएनटेक जस्तै प्रतिव्यक्ति दुई डोज आवश्यक पर्ने बताइएको छ ।
हाल बेलायतलगायतका विभिन्न मुलुकमा देखिएको कोरोनाको नयाँ स्वरूपविरुद्ध पनि यो खोप प्रभावकारी हुने बताइएको छ । बेलायत सरकारले अक्सफोर्डरएस्ट्राजेनेकाको १० करोड डोज खोप अर्डर गरिसकेको छ, जसमध्ये ४ करोड डोज सन् २०२१ मार्चसम्ममा वितरण गरिनेछ ।
बेलायत सरकारले फाइजर-बायोएनटेकद्वारा विकसित गरिएको खोपलाई सबैभन्दा पहिला अनुमोदन गरेर हाल प्राथमिकताका आधारमा वितरण गरिरहेको छ । बेलायतमा हालसम्म ६ लाख १६ हजार भन्दा बढीले फाइजर खोप लगाइसकेका छन् ।