१५ पुस, काठमाडौं ।
संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनःस्थापना हुन नसक्ने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनःस्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनःस्थापना नहुने बताए ।
नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन ।
संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन, उनले थपे, संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ ।
त्यसैले विघटन भएको संसद पुनःस्थापना हुन सक्दैन । यस्तै अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।
दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।
दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् ।
ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् । उनले भने, प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ? पार्टी एकता गर्दाको आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।
पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए , ओलीले भने, भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।
त्यस्तै ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको पनि टिप्पणी गरेका छन् । भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ त्यस्तै उनले प्रचण्ड–नेपालको भविष्यवाणी सधैँ असफल हुने गरेको टिप्पणी गरेका छन् ।
ओलीले भने, ‘प्रचण्डले हिजो भन्नुभएछ–वैशाखको चुनावमा केपी ओली पत्तासाफ हुन्छ । फेरि उहाँ नै भन्नुहुन्छ– चुनाव हुँदैन । तर, जे होस्, उहाँहरूको भविष्यवाणी अहिलेसम्म पुगेको छैन ।’
ओलीले विगतमा आफू बिरामी हुँदा गरिएका भविष्यवाणी पनि नमिलेको बताए । ‘पोहोर म बिरामी परेँ । अब मरिहाल्छ भनेका थिए । उपचार गराउन थाइल्याण्डको बैंकक जाँदा काठको बाकसमा फर्किन्छ भने ।
म त प्लेनको सिटमै बसेर आएँ’, ओलीले भने, ‘अस्ति अपरेसन गर्दा यो गयो भनेर भविष्यवाणी गरे । म मर्न त मर्छु एक दिन, मरिहाल्छु । उहाँहरूको आकांक्षा पूरा हुन्छ । म मर्छु सत्य हो ।
मान्छे मरोस् भन्ने कामना विरोधी मात्र होइन, शत्रुलाई पनि गर्नुहुन्न ।’ यसअघि हिजो प्रचण्डले वैशाखपछि केपी ओलीको पत्तासाफ हुने टिप्पणी गरेका थिए ।