१ माघ, काठमाडौं ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको ‘प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा बाेल्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, ‘ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।’
उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए । नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् । विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाएका छन् । नेपालले भने, ‘अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन ।’
प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।