वनमन्त्रीद्वारा वृक्षरोपण

१९ जेठ ७५, आइतबार

काठमाडौँ, जेठ २०
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र तथा वातावरण चेतना फैलाउने कार्यमा संलग्न सबै संघसंस्थाको सहकार्य आवश्यक भएको बताएका छन् ।

Advertisement

वन मन्त्रालय र वनस्पति विभागको संयुक्त आयोजनामा गोदावरीस्थित वनस्पति विभागको पार्कभित्र वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै उनले गोदावरी क्षेत्र संकटापन्न अवस्थामा रहेको वन्य सम्पदाको संरक्षण केन्द्र रहेको विचार प्रकट गरे ।

उनले सरकारले यही जेठ २२ गते नेपाल स्वच्छ वातावरण महाभियान,२०७५ घोषणा गर्न लागेको जानकारी दिए। मन्त्री बस्नेतले वन्य सम्पदाको संरक्षण तथा स्वच्छ हावाको संरक्षण गर्नका लागि सरकारले अहिलेदेखि नै कडा कानून बनाएर व्यवस्थित गर्ने बताए।

Advertisement

प्रतिनिधि सभाका सदस्य नवराज सिलवालले वातावरणको संरक्षण हाम्रो जीवन प्रक्रियाभित्र समावेश गरेर व्यवहारमा उतार्नुपर्ने बताए ।
अर्का सांसद सत्या पहाडीले गोदावरी क्षेत्रमा प्रवेश गर्ने हरेक व्यक्तिले हरियालीको सुन्दरता तथा आनन्दको अनुभूति गर्ने भएकाले यस्ता कार्यक्रम अन्य क्षेत्रमा पनि गर्नुपर्ने आवश्यकता औँल्याए ।

वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले वनस्पति विभागले अतिसंकटापन्न अवस्थामा रहेका वनस्पतिको संरक्षण गर्नुका साथै हरित आनन्दको अनुभूति हुने गरी गोदावरीस्थित पार्कको विकास गरेको बताए ।

Advertisement

कार्यक्रममा मन्त्री बस्नेतले संसारकै सबैभन्दा जेठो प्रजातिको गिंको बाइलोबा नामक वृक्षरोपण गरे ।

गिंको बाइलोबा नामक उक्त वनस्पति संसारकै जेठो प्रजातिमा पर्दछ । झण्डै २७ करोड वर्ष अघि डायनासोर युगमा उत्पत्ति भएको विश्वास गरिएको उक्त वृक्षमा धेरै औषधिको गुण रहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top