९ माघ, काठमाडौँ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।
दोलखास्थित गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा सङ्घ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा दुई पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।
यसैबीच, सञ्चार मन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शेर्पाले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।
फोक्सोमा समस्या देखिएपछि काठमाडौँको चाबहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीन जना छोराहरू छन् ।