विराटनगर,जेठ २०
नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण गर्ने समूहलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल पत्रकार महासंघ र प्रेस युनियन मोरङले माग गरेका छन् ।
आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष बन्धुु पोखरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको हमला प्रेस स्वन्तन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरिएको छ । गिरी बेतना एफएम, निरन्तर खबर डटकमका सम्पादक र नेपाल पत्रकार महासंघको सदस्यसमेत हुन् ।
यस्तै आफ्ना कोषाध्यक्ष गिरीमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन मोरङले घोर भत्सर्ना गरेको छ । आइतबार विज्ञप्ति निकालेर युनियनले आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसित माग गरेको छ ।
अध्यक्ष मीनकुमार नवोदितले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा संलग्न सबैलाई कानुनी कठघरामा नउभ्याए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । साथै विज्ञप्तिमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरिएको छ ।
“आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न जोडदार माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
गिरीमाथि शनिबार राति बेलबारी स्थित घरमै पुगेर आक्रमण भएको थियो । पत्रकार भोजराज बस्नेतका अनुसार जगेन गुरुङ, चित्र थापा र विशाल थापाको समूहले गिरीलाई आक्रमण गरेको थियो । आक्रमणबाट गिरीको टाउकोमा गहिरो चोट लागेको छ ।
गिरी विराटनगरस्थित नोवेल अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएका छन् ।