‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको अहिले गलत व्याख्या : प्रधानमन्त्री ओली

‘बयलगाडा चढेर अमेरिका पुगिन्‍न’ भनी दिएको अभिव्यक्तिको अहिले गलत व्याख्या : प्रधानमन्त्री ओली

९ माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताएका छन् ।

नेकपा ओली समूहको पेशागत विशेष जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनः बहुमतसहितको सरकार बन्ने उद्घोष गरे । उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरे । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्‍याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गरे । उनले आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला कांग्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको स्मरण गराए ।

पहिलो संविधानसभालाई आफूहरुले नभई अरुले विघटन गराएको र बल्लबल्ल पुनः निर्वाचन गरी अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल सुरु भएको आरोप लगाए । पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उनले प्रश्न गरे, ‘आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला ? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ ?’

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताए । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री रायमाझीले शान्ति प्रक्रियामा आइसकेपछि अब युद्धको धङधङीको काम नभएको पनि जनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.