संवैधानिक परिषद्को निर्णय रहस्यमयी भएपछि अदालत गए: सभामुख

संवैधानिक परिषद्को निर्णय रहस्यमयी भएपछि अदालत गए: सभामुख

२३ माघ, काठमाडौँ । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् ।

सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफु संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन् ।

सभामुख सापकोटाले संसदीय सुनुवाई बिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए ।

असंवैधानिक रुपमा संसद विघटन गरिएका कारण संसदीय सुनुवाई समितिमा सुनुवाई हुन नसक्ने स्थिति भएकालेसबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषदले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको बताए ।

संवैधानिक परिषदको निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाई छ ।

संसद बैठक बोलाउन बृहत छलफलमा छुः सभामुख
सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिदैँ सभामुख सापकोटाले संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको बताए ।

आफुले जे गरेपनि राष्ट्रको हितमा केन्द्रीत भएर गर्ने भन्दै उनले आफु विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिए । देश र जनताको पक्षमा ठीक छ भन्ने आफ्नो चेतनाले निर्देशित ग¥यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताए ।

सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधान माथि खेलवाड गर्दै संविधान विपरितका कार्यहरु थपिदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्नो तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने बताए ।

सभामुख सापकोटाले संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बिरुद्धमा शुक्रबार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.