भारत बस दुर्घटनाः ३५ जनाभन्दा धेरैको मृत्यु, १८ जना नहरमा हराए, खोजी कार्य जारी

४ फागुन, एजेन्सी ।
भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो ।

सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ । बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् ।

अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको बताइएको छ ।

Scroll to Top