४ फागुन, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम जारी छ ।
एमिकस क्युरीका तर्फबाट पहिलो राय दिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा जे लेखेको छ, त्यही कुरा मात्रै हेर्नुपर्ने बताएका छन् । संविधान निर्माण गर्दा भएका छलफल र संविधानले यसो भन्न खोजेको हो भनेर कल्पना गर्नुभन्दा पनि संविधानमा जे लेखिएको छ, ठ्याक्कै त्यही कुरालाई हेर्नुपर्ने कार्कीको राय छ ।
संवैधानिक इजलासमा कार्कीले भने, ‘संविधान बनाउनेहरू नै अहिले संविधान समाप्त हुन लाग्यो भनेर सडकमा आन्दोलन गरिरहेका छन्, हामीले बनाएको संविधान दुर्घटनामा प¥यो भनिरहेका छन्, यो विषयको निष्कर्ष संवैधानिक इजलासले गम्भीर ढङ्गले निकाल्नुपर्छ ।’
संसद् विघटनको विषयमा २०४७ सालको संविधानमा भएको व्यवस्थाभन्दा २०७२ सालको संविधानमा धेरै फरक भएकाले दोहोरो अर्थ लाग्ने गरी अलमलिनु पर्ने कारण नरहेको वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीको भनाइ छ ।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरूले प्रतिनिधि सभा विघटनको विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।