१३ फागुन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको हाे ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समय उक्त रिटमाथि सुनुवाइ भएको थिएन ।