१९ फागुन, संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले काम गरेको पैसा नदिएको कामदारहरुले गुनासो गरेका छन् ।
मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा रहेको ड्यामसाइटदेखि सुन्तले ब्रिज निस्कने अडिट–२ देखि अडिट–३ जोड्ने क्षेत्रमा काम गरेको पैसा नपाएको कामदारहरुको गुनासो छ ।
पीडित पक्षले सदरमुकाम खाँदबारीमा रहेको नेपाल पत्रकार महासङ्घको कार्यालयमा नै आएर यसबारे जानकारी गराएका हुन् । पीडित पक्षले संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई समेत निवेदन दिएका छन् ।
रौताहा कन्स्ट्रक्सन कम्पनी प्रालिका निर्देशक भीमबहादुर थापाले भने आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दासमेत बेवास्ता गरेपछि मजदुरहरुलाई भुक्तानी दिन नसकिएको बताएका छन् ।
फ्याक्सिन्दामा रहेको ड्यामसाइटमा अडिट २ देखि अडिट ३ जोड्ने क्षेत्रमा ४ किलोमिटर सडकमा नयाँ ट्रयाक ओपन, ग्याभिङ्ग वाल, सडक ग्राभेल र स्ट्रेक्चरलगायतका कामहरु गरेको रौताहाका कम्पनीका इञ्जिनियर सुजितकुमार सरदारले बताए ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा भारतीय पटेल इञ्जिनियरिङ लिमिटेडले पूर्णरुपमा काम गरिरहेको छ । भारतीय पटेल इञ्जिनियरिङ लिमिटेड कम्पनीसँग रौताहा कम्पनीले २० करोडको पेटी ठेक्कामा काम गरेको थियो । योमध्ये १७ करोड रुपैयाँ अरुण तेस्रोले भुक्तानी दिएको तर १ करोड ४९ लाख ९० हजार ६६ रुपैयाँ भुक्तानी लिन बाँकी रहेको कम्पनीको गुनासो छ ।
‘काम सम्पन्न भएपछि पटक–पटक भुक्तानीका लागि अफिसमा धायौँ, ८६ लाख रुपैयाँको भ्याट बिल काटेर पनि न पैसा खाता जम्मा गरिदिन्छन्, न चेक दिन्छन् ।’ इञ्जिनियर सरदारले भन्नुभयो–‘गएको कात्तिक १ गते काटेको भ्याट बिलको आजसम्म भुक्तानी गर्न आलटाल गरिरहेको छ ।’
रौताहा कम्पनीले अरुण तेस्रोमा गएको २०७५ भदौ देखि काम सुरु गरी २०७६ साउन महिनाभित्र तोकिएबमोजिमका काम सम्पन्न गरेका थिए । काम सम्पन्न भएपश्चात नै उनीहरुले अरुण तेस्रोसँग भुक्तानीको माग गरेका थिए ।
अरुण तेस्रो जलविद्युत्त आयोजनाले अन्य निर्माण कम्पनी र मजदुरहरुलाई समेत समयमा पैसा नदिने गरेको धेरै जनाको गुनासो छ । काम गरेको पैसा र तलब भत्ता नदिएको कुरा बाहिर सार्वजनिक गरे काम नै नदिने र कामबाट निकाल्ने डरले धेरै जना सार्वजनिक गर्न नसकेको मकालु युवा समाजका संयोजक नुर्बु शेर्पाले बताए ।
‘कम्पनीले काम लगाएपछि समय अवधिभित्र सबैलाई भुक्तानी दिनुपर्छ । स्थानीय श्रमिक र कामदारहरुलाई समेत विभिन्न किसिमका विभेदहरु गर्ने पाइएकाले हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौँ ’संयोजक शेर्पाले भने ।
अरुण तेस्रोले समयमा पारिश्रमिक र काम गरेको पैसा नदिएको भन्दै पटक–पटक आन्दोलन हुने गरेको छ । त्यस्ता आन्दोलनहरुलाई विभिन्न बाहानाबाजी र आश्वासनका भरमा स्थगित गराउने गरेको पाइएको छ ।
अरुण तेस्रो जलविद्युत्त आयोजनाको काम भारतीय एसजेबीएन सतलज कम्पनीले गरिरहेको छ । यो अरुण तेस्रो जलविद्युत्त आयोजना मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा ड्यामसाइट र चिचिला गाउँपालिका–३ पुखुवामा पावरहाउस निर्माण भइरहेको छ ।
अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सन् २०२३ भित्र आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।