१३ चैत, विराटनगर । गत पुष २० गते काठमाडौं संसार कै सबैभन्दा प्रदुषित हावा भएको सहर बनेको थियो । त्यसको करिब ३ महिनामा फेरि पनि काठमाडौं संसारको सबैभन्दा प्रदुषित हावा भएको सहर बनेको छ ।
काठमाडौंको हावामा शुक्रबार धुलोसँगै धुवा मिसिएको छ । काठमाण्डौ उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाण्डौका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।
एक्युआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्युआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्युआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिए । अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ ।
शुक्रबार सबैभन्दा बढि प्रदुषित काठमाडौंको हावा र त्यसपछि चीनको राजधानी बेइजिङको १ सय ८८ पुगेको थियो ।
यस्तै तेस्रो नम्बरमा भारतको मुम्बईको एक्युआई १७४ पुगेको थियो । प्रि–मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताए ।
उनका अनुसार केही दिनयता काठमाण्डौ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ ।
शनिवार र आइतवार सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र आइतबारसम्म नघटेमा वायु प्रदूषणबारेको चेतावनीसहित विज्ञप्ति निकाल्ने उनले बताए ।
तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ ।