८ बैशाख, एजेन्सी । सन् २०२१ मा विश्वको ऊर्जा माग ४ दशमलव ६ प्रतिशतले बढ्ने क्रममा रहेको छ ।
यसले सन् २०२० मा खपतमा आएको कमीको भर्पाई गर्ने अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए) ले बताएको छ ।
गत वर्ष कोरोना भाइरसको महामारी बीच विश्वको ऊर्जा माग ४ प्रतिशतले घटेको थियो ।
मागमा आउने सुधारले ऊर्जासँग सम्बन्धित कार्बन उत्सर्जन पनि करीब ५ प्रतिशतले बढाउनेछ ।
विद्युत् क्षेत्रमा कोइलाको प्रयोगमा भएको वृद्धिका कारण यस वर्ष विश्वको कार्बन उत्सर्जन १ अर्ब ५० करोड टनले बढ्ने क्रममा रहेको आईइएएका कार्यकारी निर्देशक फतिह बिरोलले बताए ।
यस वर्ष विश्वको कोइला माग सन् २०१९ को स्तर नाघ्ने क्रममा छ । समीक्षा अवधिमा कोइलाको माग विश्वभर साढे ४ प्रतिशतले बढ्ने आईईएले बताएको छ ।
यो मध्ये ८० प्रतिशत माग एशियामा हुनेछ । समीक्षा अवधिमा विश्वको तेल माग ६ दशमलव २ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।
यद्यपि यो वृद्धि सन् २०१९ को स्तरको तुलनामा करीब ३ प्रतिशत कम हुनेछ ।
बिजुलीको माग पनि समीक्षा अवधिमा १० वर्षभन्दा बढी समययताकै उच्च दरमा बढ्ने बताइएको छ ।
सन् २०२१ मा बिजुलीको भाग साढे ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।