१० बैशाख, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बिहीवार ‘डिनर मिटिङ’ भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार राति अध्यक्ष ओलीसहित गौतम, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएर ‘डिनर मिटिङ’ गरेका हुन् ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले गौतमलाई पार्टी काममा आफूसँग फर्कन आग्रह गरेका थिए । तर नेता गौतमले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरे । जवाफमा प्रधानमन्त्री ओलीले फागुन २८ गते फर्कन नसक्ने बताएपछि आफू बालुवाटारबाट ‘डिनर मिटिङ’ बीचैमा छाडेर हिँडेको गौतमले बताएका छन् ।
उनले भने– ‘असंवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेंँ । उहाँले ती निर्णय फिर्ता हुँदैन भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’
नेकपा एमालेभित्रको विवाद चरम उत्कर्षमा पुगेको समयमा बिहीवार राति ओली र गौतमबीच भेटवार्ता भएको हो । त्यसअघि अध्यक्ष ओलीले बिहीवार दिउँसो नेता माधव कुमार नेपालसँग काठमाण्डौको एक होटलमा २ घण्टा ‘वान टू वान’ छलफल भएको थियो ।