११ बैशाख, वीरगञ्ज । पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।
जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जानकारी दिएको छ ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रू. १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबरको पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको छ ।
किसानहरुले गहुँखेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यसवर्ष पाँच हजार २१० मेट्रिकटन बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ८० हजार ६०० मेट्रिकटन गहुँ उत्पादन गरेको थियो । सो आर्थिक वर्षमा प्रति हेक्टर तीन दशमलव एक मेट्रिकटनले गहुँ उत्पादन भएको थियो ।
धानखेती भन्दा बढी आम्दानी गहुँखेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँखेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।
जिल्लामा यसवर्ष किसानले विजय, एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँबाली गरेका छन् । उनीहरुले उत्पादन गरेका गहुँमध्ये ५० प्रतिशत विक्री गर्ने गरेको र बाँकी वर्षभरी आफैँ खानको लागि राख्ने गरेको बताइएको छ ।
किसानले उत्पादन गरेको गहुँ संघीय सरकारले प्रति क्वीन्टल तीन हजार १११ समर्थन मूल्यमा खरीद गर्न थालेपछि यहाँका किसान आर्थिक लाभ लिन थालेका छन्