१७ वैशाख, काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएको बेड भरिएपछि थप ८० बेड विस्तार गरेको छ।
अस्पतालका निर्देशक डा. रवि शाक्यले यसअघि कोरोना उपचारका लागि छुट्याइएको १ सय ८० बेड नै भरिएपछि थप ८० बेड विस्तार गरिएको जानकारी दिए। उनले शुक्रबारबाटै सञ्चालनमा आउने गरी ती बेड थपिएको जानकारी दिए।
योसँगै अब पाटन अस्पतालमा कोरोना उपचारका लागि बेड संख्या २ सय ६० पुगेको छ। तर संक्रमणदर उच्च भएकाले थप गरिएको बेड पनि केही दिनमै भरिने अस्पतालले जनाएको छ।
निर्देशक शाक्यले ८० बेड थप गरिए पनि त्यसमा आइसियू र भेन्टिलेटर भने नभएको बताए।
शाक्यले संक्रमितको चाप अनुसार आवश्यकताका आधारमा बेड विस्तार गर्दै लैजाने बताए।
उनले अहिले अस्पतालको कुल बेड क्षमता ६ सय ५० रहेको भन्दै उनले बेड नपाउने स्थिति आए पूरै अस्पताल नै कोभिडको मात्र उपचार गर्ने गरी बिस्तार गर्नसक्ने अवस्थामा रहेको जानकारी दिए।