९ जेष्ठ, एजेन्सी ।
अमेरिकामा कुखुरासहितका पक्षीबाट मानिसमा सर्ने साल्मनेला ब्याक्टेरियाको संक्रमणबाट जोगिनका लागि सचेत रहन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अपील गरेको छ ।
सिडिसीले साल्मनेलाको संक्रमण फैलिन सक्ने भन्दै सावधानीका लागि आफूले पालेका वा अरु कुनै पनि कुखुरा वा सो प्रजातिका जीवित पक्षीलाई चुम्बन नगर्न आग्रह गरेको हो ।
अमेरिकाका ४३ राज्यका १६३ जनामा साल्मनेलाको संक्रमण देखिएपछि सिडिसी र जनस्वास्थ्य अधिकारीहरुले यसको संक्रमणको अवस्थाबारे अध्ययन गरिरहेका छन् ।
घरपालुवा कुखुरा वा सो प्रजातिका पक्षीबाट साल्मनेलाको संक्रमण फैलिएको हुन सक्ने जनाइएको छ । सिडिसीले भनेको छ, ‘पक्षीहरुलाई चुम्बन वा काखमा नलिनु होला, यसबाट किटाणु तपाईँको मुख हुँदै संक्रमण फैलिन सक्छ ।’
कुखुरा, हाँससहितका पक्षी स्वस्थ र सफा भए पनि उनीहरुमा साल्मनेला ब्याक्टेरिया हुन सक्ने चेतावनी दिइएको छ । यी पक्षी भएको क्षेत्र तथा उनीहरु डुल्ने क्षेत्रमा ब्याक्टेरियाको संक्रमण सजिलै हुन सक्ने सिडिसीले जनाएको छ ।
साल्मनेलाको संक्रमणका कारण ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने र वान्ता हुने सहितका लक्षण देखिन्छ । यसबाट संक्रमित भएका अधिकांशलाई उपचार बिना नै निको हुन्छ । तर गम्भीर बनेको अवस्थामा संक्रमितको ज्यानै जान सक्ने सिडिसीले जनाएको छ ।
सिडिसीका अनुसार अहिले संक्रमित भएका मध्ये एक तिहाई पाँच वर्ष भन्दा मुनिका छन् । गएको फेब्रुअरी मध्य यता साल्मनेलाबाट संक्रमित भएका मध्ये ३४ जना अस्पताल भर्ना भएका छन् । तर अहिलेसम्म ज्यान भने कसैको पनि गएको छैन ।
सिडिसीले कुखुरा, हाँससहितका पक्षीको सम्पर्कमा आएपछि राम्रोसँग हात धुन र बालबालिकालाई उनीहरुको सम्पर्कबाट पर राख्न सुझाव दिएको छ ।