१३ साउन, सिन्धुली ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीको ऐतिहासिक महत्त्वलाई विश्वसामु चिनाउन भइरहेको प्रयास महत्त्वपूर्ण भएको बताएकी छन् ।
सिन्धुलीको कमलामाई नगरपालिकामा स्थापना भएको देशको पहिलो युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हाम्रा वीर पुर्खाले देशको रक्षाका लागि खेलेको भूमिका भावी पुस्तालाई हस्तान्तरण गर्दै ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न सङ्ग्रहालयले अभिप्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले हाम्रा असल एवं बहादुर पुर्खाको साहस र बलिदानले जोगाएको हाम्रो मुलुकलाई विकास र समृद्धिको मार्गमा शीघ्र रूपमा अघि बढाउनु पर्ने दायित्व वर्तमान पुस्ताको काँधमा आएको उल्लेख गरिन् ।उनले, आम जनतालाई सुखी र र खुसी पार्न सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्ने र समयले दिएको अभिभारा पुरा गर्न सबै राजनीतिक दल निर्वाचित जनप्रतिनिधि र राष्ट्रिय नेतृत्वका बिचमा आपसी सहकार्य र मेलमिलाप आवश्यक रहेकोमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले देशका विभिन्न स्थानमा सङ्ग्रहालय पुस्तकालय र वृत्तचित्र निर्माणमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले सिन्धुलीगढी सङ्ग्रहालय निर्माणमा सहयोग र्पुयाउनु हुने महानुभावलाई कदर पत्र प्रदान गरेकी थिइन् ।कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सुरु गरेको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत युद्ध सङ्ग्रहालय निर्माण महत्त्वपूर्ण प्रयास भएको बताए ।
मन्त्री कार्कीले इतिहासको प्रवद्र्घन र संरक्षण कार्यक्रममा सरकारले सधैँ सहयोग गर्ने बताए । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले सङ्ग्रहालय निर्माण नागरिक र सैनिक सम्बन्धको उदाहरण रहेको बताए ।प्रधानसेनापति थापाले सिन्धुलीगढी युद्ध सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरे ।