मेस्सीविनै पीएसजीको लगातार तेस्रो जित

मेस्सीविनै पीएसजीको लगातार तेस्रो जित

५ भदौ, एजेन्सी ।
स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सीविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार तेस्रो जित दर्ता गरेको छ । ब्रेस्टमा शुक्रबार राति भएको खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लगातार तेस्रो सफलता हात पारेको हो ।

पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए ।

उनले केलियन एमबाप्पेको क्रसलाई नियन्त्रणमा लिदै गरेको पेनाल्टी बक्सबाहिरबाट गरेको हाफ भली प्रहार गोलरक्षक मार्काे विजोटलाई लाग्दै गोलमा परिणत भएको थियो ।

३६औं मिनेटमा एमबाप्पेले हेडमार्फत दर्शनीय गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । थिलो केरहरको पासमा जर्जिनो वाइनाल्डमले गरेको प्रहार विपक्षी डिफेन्डरलाई लाग्दै एमबाप्पेसमक्ष आइपुगेपछि उनले हेडमार्फत सुन्दर गोल गरेका थिए ।

४२औं मिनेटमा फ्रान्क होनोराटले रोमेन फाइभ्रेको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा इड्रिसाले गोल गरेपछि पीएसजी सहज जिततर्फ अघि बढ्यो । उनले एन्डर हेरेराको पासमा पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई गोलरक्षकले बचाउने कुनै मौका नै पाएन ।

८५औं मिनेटमा रोमन फाइभ्रेकै पासमा स्टिभ मोउनीले गोल गरेपछि खेललाई ३–२ को अवस्थामा ल्याउदै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए । तर इन्ज्युरी समयमा अचरफ हाकिमीको पासमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीको जित पक्का गरे ।

यस खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमार र मेस्सीलाई टोलीमै समेटेका थिएनन् । दुवै खेलाडी ढिला गरी प्रशिक्षणमा सामेल भएका थिए । सम्भवत मेस्सीले अर्काे खेलबाट पीएसजीमा डेब्यु गर्ने सम्भावना छ ।

यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो । शुक्रबारको जितपछि पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.