विराटनगर, असार २७
मोरङको पूरानो सदरमुकाम रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले ५ बर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलव , भत्ता र अन्य कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
गएको वर्ष असार २८ गते मेयर पद सम्हालेका बगडियाको १ बर्ष पुग्दैछ । मेयरले प्राप्त गर्ने मासिक ३० हजार तलव , वोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी , सेमिनारमा प्राप्त हुने करिब ४५ हजार रुपैयाँ नलिने बगडियाले बताए । बगडियाले आफुलाई प्राप्त हुने सेवा सुविधा असाह्य , गरिब तथा विपत्तीमा परेका जनताको भलो हुने काममा खर्च गर्ने बताए ।
पारिवारिक जीवनको लागि नगरपालिकाबाट प्राप्त कुनै पनि रकम नलिने बगडियाको भनाई छ । बगडियाले नगरपालिकाको गाडी सुविधासमेत आफुले प्रयोग नगर्ने घोषणा गरेका छन् ।
मेयरको लागी खरिद गरिएको गाडी आफुले नचढेर प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गर्न दिएको उनले बताए । मेयर बगडिया प्रदेश १ कै ठुला उद्योगपतिहरु मध्ये एक हुन् । उनका विभिन्न स्थानहरुमा इटा उद्योग सञ्चालनमा छन् । जहाँ हजारौँ भारतीय तथा स्वदेशि कामदारले काम गर्दै आईरहेका छन् ।