विराटनगर,असार २८
‘भद्र’ र ‘रुपसी’ नामका एक जोडी गैँडा चीन सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी हस्तान्तरण गरेका हुन् ।
चीन सरकारलाई नेपालकोतर्फबाट गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताए । भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई गैंडा उपहारले दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याएको प्रधानन्त्री ओलीको भनाई थियो ।
उनले भने,‘भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् , सन्तान वृद्धि गर्नेछन् ।’वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताए । ‘वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका बिभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने ।
नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको प्रधानमन्त्री ओलीले बताए । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका लागि आउनु एउटा नमुना भएको उनले बताए ।दुई वर्षभन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जमा थिए ।