गृह जिल्ला डडेल्धुराको वडा अधिवेशन सार्न देउवाको निर्देशन

गृह जिल्ला डडेल्धुराको वडा अधिवेशन सार्न देउवाको निर्देशन

२४ भदाै, काठमाडौं।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन सार्न निर्देशन दिएका छन् । बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको छलफलका क्रममा उनले गृह जिल्लामा भदौ २५ का लागि तय गरिएको वडा अधिवेशन सार्न निर्देशन दिएको बताएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले डडेल्धुरामा देखिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि अधिवेशन केही दिनका लागि पछाडि धकेल्न भनिसकेको जानकारी आफूहरुलाई दिइएको छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।

छलफलमा पौडेल समूहले देउवालाई डडेल्धुरामा देखिएको विवाद विधि र प्रक्रियाअनुरुप टुंग्याउन आग्रह गरेको थियो । ‘हाम्रो प्रमुख चासोमध्ये डडेल्धुरामा देखिएको विवाद पनि थियो । हामीले विधि–प्रक्रियाअनुरुप नै विवाद टुंग्याइयोस् । कहीं पनि हस्तक्षेप नहोस् भन्यौं,’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री) ले डडेल्धुराको विवाद मिलाउने कोशिस गरिरहेको छु । निर्वाचन सार्न भनेको छु भन्नु भएको छ ।’

छलफलमा पौडेल समूहले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी रहेका २० जिल्लाको नामावली सार्वजनिक गरेर महाधिवेशन सुनिश्चित गर्न, सानेपामा धर्नामा बसेकाहरुको माग सम्बोधन गर्न आग्रह गरेको थियो । नामावली सार्वजनिक हुन बाँकी २० र डडेल्धुराको सदस्यता टुंग्याएर छिटो अधिवेशन नभए भदौ २७ का लागि निर्धारण गरेको गाउँपालिका / नगरपालिका तहको अधिवेशन पनि प्रभावित हुने भन्दै पौडेल समूह दबाब दिएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.