विराटनगर, साउन १५
नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले सरकार स्वेच्छाचारी ढंगले अघि बढेका कारण कांग्रेसले बिरोध गर्नुपरेको बताएका छन । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकारले दुइ तिहाईको दम्भमा संविधानको मर्म र भावनालाई कुल्चिएर अघि बढेको आरोप लगाए ।
उनले सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गर्नुकासाथै प्रशासनिक अंगहरुलाई हस्तक्षेप गरेर पार्टीप्रति वफादार रहन दबाब सृजना गरेको दाबी गरे । दुई तिहाईको सरकारलाई एकलौटी सरकार सञ्चालन गर्ने अधिकार रहे पनि साझा राजनितिक उपलब्धिलाई मिच्ने अधिकार नरहेको उनको भनाई थियो ।
सरकारको स्वेच्छाचारी चरित्र सच्याउन कांग्रेसले देशब्यापी बिरोध र आन्दोलनको कार्यक्रम आयोजना गरेको नेता गच्छदारले बताए । नेता गच्छदारले संबिधानअनुरुप सभामुख र उपसभामुख बेग्लाबेग्लै पार्टी र लिङ्गको हुनुपर्नेमा हाल एउटै पार्टीका भएकाले तत्काल सच्याउनुपर्ने धारणा राखे । यसअघि न्यायपरिषद चुप लागेर बसेको भन्दै प्रधानन्याधिश हुने बेलामा अनावश्यक विवाद झिकिएको नेता गच्छदारको भनाई थियो ।