सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

वासिङ्टन, साउन २१
अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् ।

सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताए । “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ । सडकमा खुलेआम गोली चलाउनु कुनै पनि स्थितिमा स्वीकार्य हुँदैन, दोषीमाथि कडा कानुनी कारबाही हुन्छ ।”

प्रहरीका अनुसार, बन्दुकधारीले एउटा अत्येष्टिमा सहभागी मानिसहरुको भीडमा पनि अन्धाधुन्ध गोली चलाएका थिए, र त्यहाँ एकजना ११ वर्षका बालक पनि गोली लागेर घाइते भएका छन् ।

सिकागोमा यस्तै गिरोहहरुका कारण सन् २०१६ मा सबैभन्दा बढी हिंसात्मक घटनाहरु भएका थिए । त्यहीकारण राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता घटनाका सम्बन्धमा निरन्तर आलोचना गरिआएका छन्। तर प्रहरी प्रमुख वालरले सिकागोमा गोली हानाहानका घटनामा विगत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतले कमी आएको बताए ।

“यो कुनै ठूलो विजय त होइन, तर हामी सकारात्मक दिशातर्फ अग्रसर छौं,” उनले भने “सडकमा जथाभावी बन्दुक बोक्नेहरुबाट हामीले यस वर्षमात्र ५,५०० भन्दा बढी थान बन्दुक जफत गरेका छौं ।”
रासस/एएफपी