काठमाडौं : हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् ।
हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट ठूलो हुने गर्छ ।
हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्छ । हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् ।
जलवायुजन्य विपद्का कारण नेपालले जोखिम जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रयसंघीय महासन्धिको पक्ष राष्ट्रहरूको सम्मेलनमा जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि सहयोग हुनुपर्ने आवाज उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डको ग्लास्गोमा आयोजना भएको सम्मेलनमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने क्रममा अनुकूलनको कार्यक्रमसँगै जलवायुजन्य विपद्बाट हुने क्षतिपूर्तिका लागि सहयोग हुनुपर्नेमा जोड दिए ।
नेपालको पश्चिमी क्षेत्रमा विगत झन्डै ५ सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै जलवायु वैज्ञानिक अरनिको पाण्डेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् ।
पाँडेसहित वातावरणीय विपद्जन्य अवस्थाका जानकारले हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि पर्याप्त ध्यान जानुपर्नेमा जोड दिएका छन् । नेपालका हिमताल विस्फोट भई विपद् आउन सक्ने जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘हरेक १० वर्षमा ठूला बाढी आएका छन् । कुनै पनि समय नेपालमा ठूलो प्राकृतिक दुर्घटना नहोला भन्न सकिँदैन ।’ नेपालमा ३ हजार बढी हिमताल छन् । जसमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविद् विक्रम श्रेष्ठ बताउँछन् ।
त्यस्तै, तिब्बतका २६ वटा ताल अति जोखिममा छन् । जसले नेपालमा कुनै पनि बेला असर पु¥याउन सक्छ । अति जोखिमयुक्त तालमध्ये गत वर्ष च्छोरोल्पा र इम्जा तालको पानीको सतह घटाइ जोखिम न्यूनीकरण गरिएको पनि श्रेष्ठले बताए । त्यस्तै, प्रत्येक वर्ष चारवटा ताललाई जोखिम न्यूनीकरण गर्ने योजना रहेको उनको भनाइ छ । पछिल्लो क्रममा हिमनदी पग्लिएर हिमताल बन्ने र पानीको सतह बढ्ने तर प्राकृतिक रूपमा ड्यामको प्रकृति कमजोर भएकाले नेपालका हिमताल खतरामा रहेको उनको भनाइ छ । एक वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालको सूचीमा पर्छ जसको संरचना र स्वरूप जोखिमयुक्त देखिएको छ ।
के हो हिमताल र कसरी हुन्छ जोखिम ?
हिमनदीबाट आएको हिउँ पग्लेर बनेको पोखरी हो हिमताल । यसको संरचना स्थान र अवस्थाअनुसार कमजोर वा बलियो, स्थायी वा अस्थायी या सानो वा ठूलो हुन सक्छ । हिमाली क्षेत्रमा हिमनदी तल बग्ने वा हिउँको ठूलो अंश खस्ने क्रममा खोँचहरूमा बनेको खाल्टोमा जमेको हिउँ पग्लेर ताल बन्ने गर्छन् ।
यस्तै, हिमताल हिमनदीमै पनि बन्न सक्छन्, अर्थात् हिमनदीको केही क्षेत्रमा हिउँ पग्लेर तालको स्वरूप लिन सक्छ । यस्तै हिमनदीमुनि, हिमनदीमाथि वा हिमनदीको अग्रभागको खोंचमा हिमताल बन्न सक्छन् । यसरी बनेका हिमतालमा पानीको स्रोत हिमनदी वा हिउँ हुन् ।
हिमताल माथिल्लो क्षेत्रमा हुने र तिनीहरू तल्लो क्षेत्रमा बग्ने नदी, खोलाका स्रोत भएकाले कुनै प्रकारको अप्रत्याशित गतिविधिले विपद्को अवस्था आउन सक्छ । हिउँ पग्लेर पानीको मात्रा बढ्दा वा छेउ तथा अन्तिम भागको बाँध कमजोर भएको अवस्थामा हिमतालको पानी ओभर फ्लो (छचल्किएर) वा फुटेर अप्रत्याशित रूपमा बाढीसहितका विपद् आउन सक्छ ।
त्यसले तल्लो क्षेत्रका बस्ती, खेतीपाती तथा नदी आसपासमा बनाइएका विद्युत् आयोजना तथा अरू भौतिक संरचनामा गम्भीर क्षतिको सम्भावना रहन्छ । यस्तै, मानवीय क्षति पनि हुन सक्ने हुँदा तल्लो तटीय क्षेत्रका बस्तीहरू र त्यहाँका बासिन्दाको जनजीविका तथा जलविद्युत्सहितका भौतिक संरचनाका लागि हिमताललाई जोखिमका रूपमा लिने गरिन्छ ।
तर, सबै हिमताल फुट्ने वा ओभर फलो भएर अप्रत्याशित बाढी आउने सम्भावना हुँदैन । तालको विशेषता र बाँधको अवस्था, स्रोतका रूपमा रहेको हिमनदीको गतिविधि र ’roundको भौगोलिक संरचनाका आधारमा हिमताल जोखिमयुक्त हो कि होइन भन्ने निर्धारण गरिन्छ । कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ३ हजार ६ सय २४ वटा हिमताल छन् ।
तीन जलाधार क्षेत्रमा नेपालसँगै चीनको स्वशासित क्षेत्र तिब्बत तथा भारत पनि पर्छ । अध्ययन प्रतिवेदन अनुसार २ हजार ७० वटा हिमताल नेपालमा, १५ सय ९ वटा हिमताल तिब्बत तथा ४५ वटा हिमताल भारतमा पर्छन् । भेटिएका मध्ये १४ सय १० वटा तालको आकार ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा ठूलो रहेको छ । ०.०२ स्क्वायर किलोमिटर वा त्योभन्दा माथिको आकारका हिमताल फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने सम्भावना रहेको मानिन्छ ।
नेपाल र हिन्दुकुश हिमालय क्षेत्रमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीको उच्च जोखिम कायम छ । हिमनदीको हिउँ पग्लेर ताल बन्ने र ती ताल फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा एक्कासि ठूलो बाढीको प्रकोप सिर्जना गर्न सक्छ ।
पछिल्लो अध्ययन प्रतिवेदनले नेपालको कोसी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्र, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल फुट्ने वा ‘ओभर फ्लो’को खतराको सम्भावनामा रहेको पहिचान गरेको छ । यी हिमताल फुट्ने जोखिममा रहेको र तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुन सक्ने ठूलो जोखिम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सम्भावित खतरामा रहेका हिमताल चीनमा २५, नेपालमा २१ र एउटा भारतमा छन् । पहिचान गरिएका ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ वटा कोसी जलाधार क्षेत्रमा रहेकाले कोसी तटीय क्षेत्र उच्च जोखिममा रहेको अध्ययनमा संलग्न सूदन विकास महर्जनले बताए ।
इसिमोडमा रिमोट सेन्सिङ र जिओग्राफिक इन्फर्मेसन सिस्टम (जीआईएस) एनालिस्टका रूपमा कार्यरत महर्जनले विशेषगरी हिन्दुकुश–हिमालय क्षेत्रका हिमनदी तथा हिमतालहरूको अवस्था’bout अध्ययन गर्दै आएका छन् । गण्डकी जलाधार क्षेत्रका तीन र कर्णाली जलाधार क्षेत्रका दुईवटा हिमताल जोखिममा छन् अध्ययन प्रतिवेदनका अनुसार । पछिल्लो अध्ययन सन् २०११ मा गरेको बृहत्तर अध्ययनमा टेकेर गरिएको इसिमोडले जनाएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।