दिनेशको गोलमा मनाङको विजयी सुरुआत

दिनेशको गोलमा मनाङको विजयी सुरुआत

५ मंसिर, काठमाडौं ।

डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक “ए“ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो ।

मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे ।

पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए । आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन ।

बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो । खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन् । जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो । ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे ।

जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ । यता, जावलाखेल भने हार बाट प्रतियोगिता सुरु गरेको छ ।

आजनै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ । ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए ।

सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.