६ मंसिर, काठमाडौं ।

भक्तपुरको एक उद्योगबाट कात्तिक ३० गते ढलौटका विभिन्न सामान चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ।

सामान चोरी गरी फरार रहेका चार भारतीय नागरिकलाई पाँच दिनपछि पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरुले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवा चोरी गरेको प्रहरीले जनाएको छ।

उनीहरुका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको प्रहरीको भनाइ छ।

पक्राउपछि भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको गिरीले जानकारी दिए।

Scroll to Top