ओलीसँग हार्दिकता छ, सचिव जित्छुःमहेश वस्नेत

ओलीसँग हार्दिकता छ, सचिव जित्छुःमहेश वस्नेत

७ मंसिर, काठमाडाैँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिक मानिने नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पपुलर मत ल्याएर जित्ने दावी समेत गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफै पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरे । उनले पार्टीमा युवाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरुको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए । नेता बस्नेतले भने, ‘समकालिन हिसावमा फादर अफ दि नेशनको रुपमा युवाहरु अथवा जनताहरुले स्विकार गरिरहेको र आफूलाई चाँही समकालिन राजनीतिका एउटा अब्बल नेताको रुपमा स्विकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौं । र उहाँको सशक्त सहयोगीको हिसावले म चाँही यसपाली सचिवको रुपमा यसपालीको महाधिवेशनमा आफूलाई दावेदारी प्रस्तुत गरिरहेको छु । म आफै यो आन्दोलनबाट खारिएर आएको हुनाले, केपी कमरेडसँगको मेरो एक खालको हार्दिकता भएको हुनाले मलाई देशभरीको एमाले कार्यकर्ताले माया गर्छन, अध्यक्षले मात्रै होईन । सबैले माया गर्नुहुन्छ र मलाई लाग्छ–निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु भन्ने लाग्छ ।’

अध्यक्षको उम्मेदवारी फिर्ता लिन भीम रावलललाई आग्रह
नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरे । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत उनले दिए । नेता बस्नेतले भने, ‘कमरेड भीम रावलले अध्यक्षतको रुपमा आफूलाई उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने दुई कारणले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । एउटा, अध्यक्षको दावी गर्दै पार्टीका अन्य भूमिकाहरु, अन्य पदहरुमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिदैन । अव चुनावमा हारजीत जे हुन्छ, त्यो कुरालाई सहर्ष स्वीकार गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाऔं भन्ने ढंगले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ–उहाँले अध्यक्षमा दावी गरेर एउटा राम्रो सन्देश गएनकि भन्ने मलाई लाग्छ । र मेरो उहाँलाई सुझाव के छ भने त्यो उम्मेदवारी फिर्ता गरेर पार्टी भित्र महत्वपूर्ण भूमिका उहाँले विगतदेखि जुन खेल्दै आउनु भएको छ, त्यसलाई निरन्तरता दिने हिसावले नै आफूलाई स्थापित गरेर जाने कुरा नै सबभन्दा राम्रो हुन्छ र त्यसो नगरी उहाँ चुनाव जाने र उहाँ निराश हुने, जसरी उहाँका पछिल्ला अभिव्यक्ति अलि उत्तेजक खालको अलि निराशाजनक खालको, अलिकति अराजक खालको देखिन खोज्दैछ र उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छवी बनेको व्यक्तिलाई फरक ढंगले हेर्ने दृष्टिकोण पनि बन्दैछ । यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरु र दश बूँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरुलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.