महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

९ मंसिर, काठमाडाैँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन् ।​ महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरे।

“नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ, परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ”, सन्देशमा भनिएको छ, “यद्यपि कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता महिलाद्वेषी प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।”

राष्ट्रपति भण्डारीले समाजमा विद्यमान यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै महिलालाई आर्थिकरूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन सक्नुपर्ने बताएका छन् ।

सन्देशमा लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.