वासिङटन, साउन २५
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, ‘अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिएका थिए । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उनको भनाई छ ।तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।
तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त छन् , र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।‘हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,’ पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भने ।
‘अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,’ उनले भने । उनले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसकेको पनि जानकारी दिए ।
पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताए जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् ।‘चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त क्रियाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित क्रियाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,’ पेन्सले भने ।
अमेरिकाका अहिले नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स सैनिक विभाग कार्यरत छन् ।डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिए । हवाईबाट निर्वा्चित सिनेटर ब्रायनले भने,‘यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।’
(रासस÷एएफपी)