२३ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले महाधिवेशनपछि पार्टीको लक्ष्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले बिहीबार १५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल सम्मानित नेपाली’ हुने बताएका हुन् ।
थापाले भने, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ लक्ष्य ०७८ सालको अधिवेशन पछाडि नेपाली कांग्रेसको लक्ष्य हो । जसरी २००६ सालमा कांग्रेसको मिसन के थियो ? बीपीले सानो पर्चामा लेख्नुभयो ‘हाम्रो ध्येय नेपालमा जनताको शासन स्थापित गर्ने, २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले भन्नभयो, कांग्रेसको मिसन पञ्चायतलाई फ्याँक्ने, जनताको शासन पुनर्स्थापित गर्ने । ६० सालमा शिखर पुरुष गिरिजाप्रसादले भन्नुभयो ‘हाम्रो ध्येय हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने । ०७८ सालपछि कांग्रेसले भन्छ नेपाललाई सम्मुनन्त बनाउने, प्रत्येक नेपालीलाई सम्मानित बनाउने छ ।’
आफूले सार्वजनिक गरेको लक्ष्य प्राप्तको बाटोमा अघि बढे कांग्रेस आफै बलियो हुँदै जाने उनले बताए । उनले आगामी निर्वाचनमा कांग्रेसले जित्ने विषयमात्रै नभए समन्नुत नेपालको लक्ष्यलाई पूरा गर्नका लागि जित्नु पर्ने बताए । आफ्नो अवधारणाअनुसार सामाजिक लोकतन्त्रले समाजभित्र न्यायापूर्ण अवस्था निर्माण गर्ने जसको आधारमा समाजमा दीर्घकालीन शान्ति, स्थायित्वको अवस्था रहने उनले बताए ।
उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए । उनले भने, ‘कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र होइन, पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो । महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’