१८ पुस, विराटनगर ।
नेपाली कांग्रेसको भर्खर्रै सम्पन्न १४ महाधिवेशनपछि पार्टी एक भएर अबका तीन चरणका निर्वाचनमा होमिने सभापति लगायत नवनिर्वाचित सबै पदाधिकारीहरुले प्रतिवद्धता जनाए ।
महाधिवेशनमा विभिन्न समूह बनेपनि पार्टीलाई एक बनाउन र अबको निर्वाचनमा कांग्रेसलाई सफल बनाउन निर्वाचनमा पराजित भएका सभापतिका आकांक्षीहरु पनि एक देखिए । दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा निर्वाचित भएको प्रमाणपत्र लिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समान व्यवहार गरिने बताएका थिए ।
उनले मत नदिनेलाई पनि समेटेर लैजाने प्रबिद्धता जनाए । तर पदाधिकारीमा वरियता तोक्नेदेखि सभापतिका अन्य कदमहरुमाथि महाधिवेशनको केही दिन नवित्दै गुटबन्दीलाई प्रश्रय दिएको देउवामाथि आरोप लागेको छ ।
सभापति देउवाले पार्टी विधानको दफा उल्लेख गर्दै शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको विषयलाई लिएर देउवामाथि कांग्रेस भित्रैबाट गुटलाई प्रश्रय दिएको आरोप लागेको छ । देउवाले महाधिवेशनको निर्वाचनमा सहभागी नभएका र आफूलाई सहयोग गरेकाहरुलाई मात्रै पहिलो चरणको मनोनयनमा समेटेका छन् ।
नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने घोषणा गरेका रामचन्द्र पौडेल, दोस्रो चरणमा देउवालाई समर्थन जनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, देउवाको प्रस्तावक बसेका कृष्णप्रसाद सिटौला, देउवाकै प्यानलबाट उपसभापतिमा पराजित विजयकुमार गच्छदार र महामन्त्रीमा पराजित डा.प्रकाशशरण महत केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
प्रतिस्पर्धा नगरी देउवाको चुनावी अभियान हाँकेका नेताहरु डा.नारायण खड्का, मीनबहादुर विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । देउवाका निकटतम प्रतिस्पर्धी डा.शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका कसैलाई पनि मनोनयनमा समेटिएको छैन ।
सिंह प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालालाई केन्द्रीय सदस्य मनोनित गर्दा शेखर प्यानलका उपसभापति पदका उम्मेदवार डा.चन्द्र भण्डारी र महामन्त्रीका उम्मेदवार डा.मिनेन्द्र रिजाललाई देउवाले समेटेका छैनन् ।
उपसभापतिमा स्वतन्त्र प्रतिस्पर्धा गरेका महेश आचार्य र देउवा प्यानलबाटै महामन्त्रीमा पराजित प्रदिप पौडेललाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छैन् । देउवाले विधानको अधिकार प्रयोग गरे पनि राजनीतिक रुपमा प्रतिस्पर्धी समूहलाई ‘पेलेर जाने’ नीति अंगीकार गरेको आरोप लागेको छ ।
सभापति देउवाले केन्द्रीय सदस्यमा १० जना मनोनयन गरेको विषयमा सामाजिक सञ्जालमा कांग्रेस नेता कार्यकर्ताबीच पक्ष विपक्षमै बहस चर्किरहेको छ । उपसभापतिमा पराजित नेता डा. चन्द्र भण्डारीले सामाजिक संजालमा ‘प्रजातान्त्रिक संसारमा आफूसँग फरक मत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीका रुपमा सम्मान गरिन्छ ।
प्रजातन्त्र व्यवहार हो भाषण होइन’, भन्दै लेखेका छन् । त्यस्तै पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले महाधिवेशनको प्रक्रियाबाटै अलग भएको घोषणा गरेका नेता रामचन्द्र पौडेलले मनोनयन अस्वीकार गर्नुपर्ने टिप्पणी गरेका छन् ।
‘राजनीतिक इमान र नैतिकताको प्रश्न उठाउने व्यक्तिले आफू सामेल नै नभएको महाधिवेशनबाट चुनिएको सभापतिको मनोनयनलाई स्वीकार्न कसरी मिल्छ ? हामी सबै उहाँबाट मनोनयनको अस्वीकृतिको घोषणाको प्रतीक्षामा छौं’, घिमिरेले सामाजिक संजालमा लेखेका छन् । उनले राजनीतिमा नैतिकताको पाठ सिकाउने उहाँ नै होइन भन्दै पौडेलमाथि प्रश्न उठाएका छन् ।
उनले साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो भन्दै सभापति देउवामाथि समेत प्रश्न गरेका छन् । यस्तै केन्द्रीय सदस्यमा पराजित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले समेत समाजिक संजालमा जोगी सन्यासी हरुले केबल पेटका लागि भिक्षा माग्थे र सत् मार्गको कुरा गर्थे अहिले त पद माग्न थालेछन। बुद्द्म सरनम गच्छामी । जय श्रीराम चन्द्र भनेर लेखेका छन् ।
संस्थापन इत्तरबाट यस्ता अभिब्यक्ति आएपछि सभापति देउवानिकट कार्यकर्ताहरु पनि सामाजिक सञ्जालमार्फत निर्णयको प्रतिरक्षामा उत्रिएका छन् । उनीहरुले सभापतिले विधानप्रदत्त अधिकार प्रयोग गर्दा विरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।
केन्द्रीय सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विधानले दिएको अधिकार सभापतिले आफ्नो विवेकअनुसार प्रयोग गर्ने हो । प्रतिस्पर्धामा हारेकाहरुले धैर्य गर्नुको साटो सभापतिलाई असफल बनाउन अहिलेदेखि नै आलोचना गर्नुको अर्थ नभएको उनीहरुको भनाइ छ ।
यसअघि वरियता निर्धारण गर्ने सभापतिको निर्णयको पनि काग्रेस भित्रैबाट विरोध भएको थियो । सभापति देउवाले तोकेको पार्टीको वरियतामा सभापतिमा पराजित डा. शेखर कोइरालालाई २०औँ नम्बरमा राखिएको छ । यसअघि पार्टी सभापतिमा पराजित भएका नेतालाई दोस्रो या तेस्रो वरियतामा राखिँदै आएको थियो ।
तर, दोस्रो चरणको मतदानमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाको वरियता यस पटक २० औँ नम्बरमा पुगेको हो । कोइरालालाई वरियताक्रममा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीभन्दा तल राखिएको छ । कोइराला पछिल्लो समय कांग्रेसमा प्रवेश गरेका सुनिल थापाभन्दा पनि पछाडि परेका छन् । वरियतामा देउवा पहिलो नम्बरमा छन् । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई दोस्रो र तेस्रो भनिए पनि खुलाइएको छैन ।
त्यसपछि उपसभापति, महामन्त्री तथा सहमहामन्त्री वरियता क्रममा छन् । त्यसपछि अर्जुननरसिंह केसी, शशांक कोइराला, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ र सुनिल थापापछिको वरियतामा शेखर कोइराला परेका छन् ।
कांग्रेस विधानको दफा २१ मा केन्द्रीय सभापतिले समावेशी प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने उल्लेख छ । सभापति देउवाले पहिलो चरणमा १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपनि अझै २३ जनाको मनोनयन बाँकी छ ।
कांग्रेसमा महाधिवेशनबाट १३४ जना निर्वाचित भएका छन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।