१८ पुस, विराटनगर ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा पराजित नेताहरुलाई भटाभट केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
सभापति देउवा आइतबार थप ३ जना महाधिवेशनमा पराजित नेताहरुलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। उनले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।
कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले तीन नेतालाई केन्द्रीय सदस्य मनोनयन गरेको कांग्रेस केन्द्रयि कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही सहमहामन्त्रीमा पराजित भएका थिए। त्यस्तै पौडेले महामन्त्री र गुरुङ पार्टी सभापतिमा पराजित भएका थिए। यसअघि सभापति देउवाले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जनालाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए।
