ग्लोबल ट्वान्टी–२० छनोटका लागि बन्द प्रशिक्षण सुरु

१९ पुस, काठमाडौं ।
राष्ट्रिय क्रिकेट टोलीले आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ ।
३० खेलाडीलाई बोलाईएको बन्द प्रशिक्षणमा सोमबार सम्म २० खेलाडीले रिपोर्टिङ गरि सकेका छन् । टियु मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए ।

सोमबार बिहान बन्द प्रशिक्षणका लागि त्रिवि मैदानमा उपस्थित हुने खेलाडीहरूमा शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो रहेका छन् ।

पहिलो दिन टोली फिटनेश परिक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो । पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी पाँच जना खेलाडी पिसिआर परिक्षण बाँकी रहेकाले होटलमा रहेका हुन् । स्पिनर सागर ढकाल अस्वस्थको कारण होटलमै छन्। तीव्र गतिका बलर नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी पिसिआरको लागि होटलमा छन् ।

कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका छैनन् । यी नौं खेलाडीले सोमबार साँझ सम्म रिपोर्टिङ गर्ने बुझिएको छ ।

कप्तान सन्दीप लामिछाने भने बिग ब्यास लिगको लागि अष्ट्रेलियामामा छन् । सन्दीप पहिलो चरणको बिग ब्यास पछि टोलीमा सामेल हुने आशा गरिएको मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले जनाए । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सको पहिलो चरणको खेल जनवरी १९ मा सकिनेछ ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले स्पष्टीकरण हुँदै मंसिर २९ मा कप्तान र उपकप्तान हटाउँदै उक्त चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो ।

ग्रेडमा नराख्ने निर्णय भने क्यानले आगमी बोर्ड बैठकमार्फत फिर्ता लिने भएको छ । यहि विवादको कारण ज्ञानेन्द्र सहित १२ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् । सोमबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमती बनेको थियो । कप्तान भने सन्दीप लामिछाने नै हुनेछन् ।

पहिलो चरणको बन्द प्रशिक्षण एक हप्ता पुगनपुग हुनेछ । प्रधानमन्त्री कपको लागि सम्भवत एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्नेछ । त्यसपछि खेलाडीले आफ्नो प्रदेश र विभागीय टोलीबाट खेल्नेछन् ।

प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ गतेसम्म काठमाडौंको टीयु मैदान र मुलपानीमा आयोजना हुने कार्यक्रम छ । यसअघिका चार संस्करण एकदिवसिय शैलीमा भएपनि यो पटक ग्लोबल टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै टि२० शैलीमा हुने बताएको छ ।

टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।

Scroll to Top