जुम्लामा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किए, बाँकी केही आज फर्किने

जुम्लामा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किए, बाँकी केही आज फर्किने

२५ माघ, काठमाडौँ । जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेकामध्ये १४ जना गाउँ फर्किएका छन् । फसेका ३४/३५ जनामध्ये अहिलेसम्म १४ जना फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिए ।

बाक्लो हिउँ परेपछि फसेका उनीहरु हिजो घाम लागेर हिउँ पग्लिएपछि फर्किएका हुन् । बाँकी केही आज फर्किने तयारीमा रहेका छन् ।

भेडा तथा जडीबुटी समेत रहेका केहिले भने तत्काल फर्कने इच्छा नदेखाएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् ।

बाक्लो हिमपातपछि अस्ति उद्धारका लागि गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको थियो ।

यसैबीच, हिउँ खेल्न गएका गोरखाका दुई युवा हराएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएका हुन् । परिवारले उनीहरु हराएका र खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।

परिवारको सूचनाका आधारमा खोजी थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताउनुभयो । करण र साइँला गएको माघ २० गते लाप्राकमा हिउँ खेल्न भनेर हिँडेका परिवारले जानकारी दिएका छन् ।

गएको बिहीवार र शुक्रवार देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.