टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीको चिसोले मृत्यु, एक नेपाली सम्पर्कविहीन

२७ माघ, बार्सिलोना । अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।

ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएको हुँदा उक्त घटना घटेको टर्कीका अधिकारीहरूले बताएका छन्त । तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन् । घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

एक जना नेपाली सम्पर्कविहीन

कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेको एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्ले अनलाइनखबरलाई बताए। ‘गत सातादेखि सम्पर्कविहीन भएपछि उहाँको परिवारले चिन्ता प्रकट गर्दै हामीलाई सम्पर्क गर्नुभएको छ । घटना विवरणबारे बुझ्ने कोसिस गरिरहेका छौं,’ उनले भने।

Advertisement

घिसिङका अनुसार ग्रिस–टर्की सिमानाबाट केही नेपालीहरू कष्टकर यात्रा गर्दै स्तानबुल आइपुगेका छन् । ‘सिमानाबाट फर्किएका भाइहरुसँग भेटें । उहाँहरूले निकै दुःखद् घटना सुनाउनुभयो’ उनले भने, ‘ग्रिसको प्रहरीले शरीरमा लगेको ज्याकेट र जुत्तासमेत खोसिदिएपछि,जाडोले कठ्यांग्रिदै खाली खुट्टा घन्टौं हिँडेको सुनाउनु भयो।’

स्तानबुल फर्किएका नेपालीहरूको भनाइलाई उदृत गर्दै ४१ जना आप्रवासीहरूको समूहलाई ग्रिसको प्रहरीले समातेर टर्कीको सिमानामै फर्काइदिएको घिसिङ्ले सुनाए। ‘उहाँहरूका अनुसार ८ जना नेपालीहरू रहेको बुझियो । तीमध्ये ७ जना फर्किएको भए पनि हालसम्म अवस्थी मात्रै सम्पर्कविहीन हुनुहुन्छ ।’

चिसोमा कठ्यांग्रिएर बुधबार र बिहीबार गरी १९ जना आप्रवासीहरूको मृत्यु भएको बताइएको छ। ‘अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा मृत्युको खबर आइरहेको छ । तर शवहरू कुन–कुन अस्पतालमा राखिएका छन् भनेर हामीले बुझ्ने प्रयास गरिरहेका छौ,’ घिसिङ्ले भन ।

अवैधरुपमा ग्रिस प्रवेश गरेका चारजना नेपालीको मंसिरको पहिलो साता गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । दुई साताअघि मात्रै उनीहरूको शव नेपाल पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top