काठमाडौंमा बन्दको प्रभाव न्यून, संसद भवन प्रवेशमा कडाइ

४ फागुन, काठमाडौं ।

एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून छ ।

काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ।

सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो।

संसद भवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइ‍एको एक प्रहरी अधिकारीले बताए। संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ।

उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताए। बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसपछि दिउँसो १ बजे संसद बैठक बस्नेछ।

Scroll to Top