माग सम्बोधन नभएपछि दूरसंचार प्राधिकरणमा कर्मचारीहरू आन्दोलित

माग सम्बोधन नभएपछि दूरसंचार प्राधिकरणमा कर्मचारीहरू आन्दोलित

१८ फागुन, काठमाडौँ । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् ।

गत पुस २ गते व्यवस्थापनसमक्ष विभिन्न माग राखे पनि हालसम्म सम्बोधन नभएपछि आन्दोलित हुनु परेको कर्मचारीको भनाइ छ ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अगुवाइमा कर्मचारीहरू आन्दोलित भएका हुन् ।

माग सम्बोधनका विषयमा यही फागुन ५ गतेदेख पुन ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकोले यही फागुन १२ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिनु परेको युनियनका अध्यक्ष विजयकुमार राय यादवले जानकारी दिए ।

प्राधिकरणको सुदृढीकरण हुनुपर्ने, तत्काल जग्गा खरिद गरी आफ्नो भवन निर्माण प्रक्रिया अघि बढाउनु पर्ने, कटौती गरिएको कर्मचारी सेवा सुविधा निरन्तर हुनुपर्ने, दूरसंचार नियमावलीमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग कर्मचारीका छन् ।

आन्दोलनअन्तर्गत हातमा कालोपट्टी बाँधेर अध्यक्षको कार्यकक्ष अगाडि धर्ना दिइरहेको युनियनले जनाएको छ ।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने युनियनको भनाइ छ । यही फागुन २० गते प्राधिकरणको २४ औं वार्षिकोत्सवसमेत छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.