२० फागुन, एजेन्सी । पाकिस्तान र अस्ट्रेलियाबीच आज शुक्रवारदेखि रावलपिन्डी क्रिकेट स्टेडियममा पहिलो टेस्ट क्रिकेट सुरु हुँदैछ । झन्डै २५ वर्षपछि अस्ट्रेलिया क्रिकेट खेल्न पाकिस्तान पुगेको हो ।
गएको आइतवार अस्ट्रेलियाको क्रिकेट टोली एक विशेष चार्टर्ड उडानमार्फत पाकिस्तान पुगेको थियो । पाकिस्तान अवतरण हुनेबित्तिकै अस्ट्रेलियाको टोलीलाई उच्च सुरक्षाको घेरामा राखिएको थियो ।
पाकिस्तान भ्रमणका क्रममा अस्ट्रेलियाले तीन टेस्ट, तीन एकदिवसीय र एउटा टी–२० खेल्नेछ । खेलहरू रावलपिन्डी, कराँची र लाहोरमा हुनेछन् ।
अस्ट्रेलियाले यसअघि सन् १९९८ मा पाकिस्तानको भ्रमण गरेको थियो । अस्ट्रेलियाले पछिल्लो पटक पाकिस्तान भ्रमण गरेयता पाकिस्तानमा साढे २२ करोड जनसङ्ख्या थपिएको छ, त्यसैले साढे २२ करोड पाकिस्तानीका लागि अस्ट्रेलिया पहिलो पकट उनीहरूको देशमा पुगेको हो ।
पाकिस्तानमा भएको आन्तरिक युद्धका कारण निकै कम विदेशी क्रिकेट टोली पाकिस्तान गइरहेका बेला सन् २००९ मा श्रीलङ्काको टोलीमाथि बम आक्रमण भएपछि पाकिस्तानमा विदेशी टोली गएका थिएनन् । गएको वर्षदेखि पाकिस्तानमा विदेशी टोली जान थालेका छन् ।