पपुवा न्युगिनीले नेपाललाई दियो १७४ रनको मध्यम लक्ष्य

पपुवा न्युगिनीले नेपाललाई दियो १७४ रनको मध्यम लक्ष्य

८ चैत्र, विराटनगर ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १७४ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । पपुवा न्युगिनीका कप्तान असाद भालाले ९६ बलमा ३ चौकासहित सर्वाधिक ४५ रन बनाए ।

तीव्र गतिका बलर करण केसीले ओपनर टोनी उरालाई तेस्रो ओभरको तेस्रो बलमा विनोद भण्डारीबाट ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सोमपाल कामीले १० औं ओभरको पाँचौं बलमा ओपनर लेगा सियाकालाई २० रनमा विनोदबाट क्याच गराए । उनी आउट साइड एज लागेर आउट भए ।

पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीका मध्यक्रमका प्रमुख ब्याटर चाल्र्स अमिनीलाई सन्दीपबाट १३ रनमा क्याच गराए । आरिफ शेखले राइली हेकुरेलाई १ रनमा बोल्ड गर्दा पपुवा न्युगिनी २१.५ ओभरमा ६८–४ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि बाउ र भालाले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

सन्दीपको ३३ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका सेसे बाउ एज लागेर मिडविकेटमा वैकल्पिक फिल्डर कमलसिंह ऐरीबाट १९ क्याच भए । नर्मन भानुआ ३४ बलमा १ चौकासहित १८ रनमा आउट भए । पवन सरार्फले भाललाई विनोदबाट क्याच गराउँदै करिअरको पहिलो ओडिआई विकेट लिए । चाद सोपर २२ र काबुआ मोरेआ १७ रनमा अविजित रहे ।

आरिफ शेखले १० ओभरमा १ मेडनसहित २१ रन खर्चेर १ विकेट लिए । सन्दीपले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दा ३४ रन खर्चेर १ विकेट लिन सफल भए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.