११ चैत्र, एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपका नेताहरुले रुसलाई रोक्न निकै ढिला प्रयास थालेको बताएका छन्।
ब्रसेल्समा भएको युरोपियन परिषदको बैठकलाई नेपाली समयअनुसार शुक्रबार बिहान सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो देशमा विगत एक महिनादेखि गरेको विनाशबारे बोलेका हुन्। उनले त्यसक्रममा रुसी आक्रमणलाई रोक्नका लागि युरोपले निकै ढिलो प्रयास गरेको बताए।
तर रुसले गरिरहेको आक्रमणविरुद्ध आफूहरुको प्रतिरक्षात्मक लडाइँमा युरोपले गरिरहेको सहयोगका लागि उनले आभार व्यक्त गरेका छन्।
सम्बोधनको क्रममा जेलेन्स्कीले रुसले आफ्नो देशमा गरेको विनाश र क्षतिबारे परिषदलाई जानकारी गराए।
युरोपेली नेताहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, ‘तपाईँहरुले रुसमाथि प्रतिबन्ध लगाउनु भयो। हामी त्यसका लागि आभारी छौँ। यी शक्तिशाली कदम हुन्।’ ‘तर यो अलि ढिला भयो‘ अघि नै अवसर थियो, विनाश रोक्न सकिन्थ्यो’, उनले भने, ‘रक्षात्मक रुपमा प्रतिबन्ध लगाइएको भए रुस युद्धमा जाँदैनथ्यो।’
नर्ड स्ट्रिम टू ग्यास पाइपलाइन पहिले नै रोकिएको भए ‘रुसले ग्यासको संकट सिर्जना गर्न’ नसक्ने जेलेन्स्कीले बताएका छन्। त्यसपछि सम्बोधनको क्रममा जेलेन्स्कीले आफ्ना छिमेकी देशहरुलाई युक्रेनले युरोपियन युनियनमा प्रवेशका लागि गरेको आग्रह स्वीकार गर्न अपिल गरे। ‘यो कुरामा ढिला नगरिदिनु हुन मेरो आग्रह छ’, उनले भनेका छन्।
एक महिना पहिले फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको हो। विगत महिना दिनदेखि जारी युद्धका कारण युक्रेनका आधा बालबालिकासहित एक करोडभन्दा बढी मानिस आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्। सर्वसाधारणसहित हजारौँको ज्यान गएको छ।
