१२ चैत्र, एजेन्सी ।
युक्रेनले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयाघात भएको दाबी गरेको छ।
युक्रेनको गृहमन्त्रीका सल्लाहकारले शुक्रबार यस्तो दाबी गरेका हुन्। शोइगु गत मार्च ११ यता सार्वजनिक रुपमा देखिएका छैनन्। यद्यपि मार्च २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक गरेको भिडियोमा उनी पनि सँगै देखिएका थिए।
सामाजिक सञ्जाल फेसबुकमा युक्रेनका गृहमन्त्रीका सल्लाहकारले लेखेका छन्, ‘युक्रेनमाथि रुसी आक्रमणको असफलताबारे पुटिनको आरोपपछि रुसी रक्षामन्त्रीलाई हृदयाघात भएको छ।’
उनका अनुसार अहिले शुइगु अस्पतालमा उपचार गराइरहेका छन्। यद्यपि रुसले भने युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी रक्षामन्त्री हराएको उल्लेख गरेका थिए।
जेलेन्स्कीले रुसी सेनामाथि युक्रेनी सेनाले बहादुरीपूर्वक प्रहार गरेको र यसले रुसी सेनालाई ठूलो नोक्सानी भएको उल्लेख गरेका छन्।