आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै, के गर्न हुन्छ, के गर्न हुँदैन ?

२४ चैत ७८, शुक्रबार

काठमाडौं, चैत २५। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन ।

यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ ।

निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ । प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।

Advertisement

आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top