विराटनगर ः १८ औं एसियाली खेलकुद प्रतियोगिता पुरुष फुटबल टोलीले ३६ वर्षपछि गोल गरेको छ । खेल इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा जारी समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको हो ।
गोलको खडेरी तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती भएको हो । पाकिस्तानका युनस सहबाजले क्लियर गर्न खोजेको बलले जाली चुमेर नेपालले उपहार गोल पाएको हो ।अहिले ६५ औँ मिनेटको खेल चलिरहँदा नेपाल र पानिस्तानको १–१ बराबरी भएको छ ।
सन् १९८२ को एसियाली खेलकुदमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यसपछि एसियाली खेलकुदमा नेपालले खेलेका १७ खेलमा ६८ गोल खाए पनि गोल गर्न सकेको थिएन ।यसअघि पहिलो खेलमा जापानसँग १–० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २–० ले हारेको थियो ।