६ असार, विराटनगर । शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् ।
सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।
शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए ।
युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ ।
प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् ।
बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ ।
प्रहरी स्रोतका अनुसार आइतबार राति खोलामा खोजी गर्ने क्रममा कपडा भेटिएको थियो ।
‘पक्राउ परेकाहरुको बयानका आधारमा राति बूढीखोलाको पुलमुनि खोजी गरियो, तर एक्कासी बाढी आएपछि गाह्रो भयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले आज बिहानैदेखि खोजी भइरहेको छ ।’
सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो ।
तर बेपत्ता युवक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।