६ असार,काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजारको पहिरो आज पनि रोकिएको छैन ।
शेयर बजार परिसूचक नेप्से आज सोमवार ४९ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर राताम्मे भएकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र लघुवित्तको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दुई सय ३० वटा कम्पनीको शेयर कारोबार भएकोमा पाँच वटा कम्पनीबाहेक सबैको शेयर घटेको छ ।
शेयर बजार लगातार घटेपछि बेच्नेहरूको लहरले आज कारोबार सङ्ख्या र रकम भने बढेको छ ।
६१ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले तथा कालिका पावर र रिभर फल्स कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला र सीवाईसी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।