३१ असार,काठमाण्डौ ।
सत्ता साझेदार दलहरूको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीको विषयमा छलफल भएको छ ।बैठकमा छलफलका क्रममा एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएमा उहाँले राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाले जोड दिए । यसबारेमा बैठकमा कुराकानी भएको र प्रधानमन्त्री देउवाले पनि चासो व्यक्त गर्नुभएको नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम उल्लेख गरेपछि गभर्नर अधिकारी विवादमा परेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बिहान बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएको र यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भन्नुभएको डा। महतले बताए।बैठकले यसबारेमा थप छलफल गर्ने निष्कर्ष निकालेको छ । ‘यो विषय असाध्यै गम्भीरताका साथ उठेको छ । यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको हो’, कांग्रेस प्रवक्ता डा। महतले भने ।यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो ।